ताजा पोस्ट :

यस वर्ष बढी वर्षा हुने अनुमान, विपद्जन्य घटनाबाट २० लाख मानिस प्रभावित हुने

46800

काठमाडौं । बाढी, पहिरालगायत विपद्जन्य घटनाको उच्च जोखिममा रहेको मुलुकमा यसपाली २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्राकृतिक प्रकोपले चार लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार मानिस प्रभावित हुने अनुमानका आधारमा प्रतिकार्य योजना तयार पारिएको छ ।

प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले विगत ११ वर्षको प्रकोपको अवस्था विश्लेषण गरेर उक्त अनुमान गरिएको जानकारी दिए । जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने अनुमान सार्वजनिक गरिसकेका सन्दर्भमा प्राधिकरणले प्रभावित जनसङ्ख्या अनुमान गरेको हो । गत वर्ष (विसं २०७८) मा १८ लाख मानिस प्रभावित हुने अनुमान गरिएको थियो । विसं २०७८ मा बढीबाट ६३ र पहिराबाट १८२ सहित ४९० को मृत्यु भयो । बाढीबाट ३४ र पहिराबाट ३३ सहित ७० जना बेपत्ता भए । प्रभावित जनसङ्ख्या अनुमान गरिएभन्दा बढी भयो ।

विसं २०७८ मा आकलनअनुसार नेपालमा औसतभन्दा १५ प्रतिशत बढी वर्षा भई अक्टोबर ११ मा आठ दिन ढिला गरी मनसुन बाहिरिए पनि कात्तिकमा परेको बेमौसमी वर्षाले धानबालीसहित पुनःठूलो धनजनको क्षति पुर्‍याएको थियो ।

यसपाली पनि त्योक्रम दोहोरिने सम्भावना कायमै छ । मौसम विज्ञान विभागको तथ्याङ्कका आधारमा यसपाली प्रदेश नं १ को झापा, मोरङ, सुनसरी र मधेस प्रदेशको सप्तरीमा बढी वर्षा हुने अनुमान रहेको डा भट्टराईले जानकारी दिए ।

तराईका अन्य क्षेत्रमा सरदरको वर्षा हुनेछ । बागमती प्रदेशको सिन्धुपाल्चोक र रामेछापमा बढी वर्षा हुने तथा उपत्यकामा सरदर वर्षा हुने सम्भावना छ । समग्रमा पश्चिम तराई धेरै प्रभावित हुने अनुमानसँगै त्यस क्षेत्रमा बाढी पहिरो र डुबानका बढी समस्या हुनसक्ने देखिएको छ । ती वर्षा हुने भनी अनुमान गरिएका जिल्लासहितका क्षेत्रमा आवश्यक पूर्वतयारी तथा प्रतिकार्य योजना बनिसकेका छन् ।