ताजा पोस्ट :

तपाईँको आम्दानीमा लाग्ने करको दर यस्तो छ

50600

काठमाडौँ । तपाईँले एक वर्षमा के कति कर तिर्नुपर्ला ? हिसाब गर्नुभएको छ । यदि छैन भने तपाईँलाई हामीले जानकारी दिने प्रयास गरेका छौँ ।

सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्यो । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दा करका विभिन्न दरको समेत हेरफेर गरेका थिए । सोही आधारमा आन्तरिक राजस्व विभागले आगामी आवका लागि तिर्नुपर्ने करको दरसमेत सार्वजनिक गरेको छ ।

विभागका अनुसार तपाईँ अविवाहित हो भने पाँच लाखसम्मको आम्दानीमा एक प्रतिशत मात्रै कर तिरे हुन्छ । त्यस्तै तपाईँ विवाहित हो भने छ लाखसम्म पनि एक प्रतिशतका दरले मात्रै कर तिरे हुन्छ । त्यो भनेको एकलले पाँच हजार र दम्पतिले छ हजार मात्रै कर तिरे हुन्छ । त्यस्तै, तपाईँको आम्दानी पाँच लाखदेखि सात लाखसम्मको आय र छ लाखभन्दा बढी आठ लाखसम्मको आयमा एकल र दम्पति दुवै समूहले १० प्रतिशत अर्थात् २० हजार बराबर कर तिर्नुपर्छ ।

सात लाखभन्दा बढी १० लाखसम्मको करयोग्य आय र आठ लाखभन्दा बढी ११ लाखसम्मको करयोग्य आयमा पनि समान २० प्रतिशत अर्थात् ६० हजार बराबरको कर तिर्नुृपर्छ । यस्तै, १० लाखभन्दा बढी २० लाखसम्म एकलले २० प्रतिशत अर्थात् तीन लाख बराबरको कर तिर्नुपर्छ । त्यस्तै ११ लाखदेखि २० लाखसम्म कर योग्य आय गर्ने दम्पतिले ३० प्रतिशत अर्थात् दुई लाख ७० हजार बराबरको कर तिर्नुपर्छ ।

यसैगरी २० लाखभन्दा बढी आम्दानी हुनेले समान रूपमा तीन लाख ६० हजार बराबरको कर तिर्नुपर्ने विभागले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । विभागका अनुसार ३० लाखभन्दा बढी आम्दानी हुने एकलले सात लाख ४५ हजार र दम्पतिले सात लाख १६ हजार बराबरको कर तिर्नुपर्छ । एकलौटी रुपमा फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तिभरणबापतको आय, निवृत्तिभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने व्यक्तिको आयमा एक प्रतिशतको कर नलाग्ने विभागले स्पष्ट पारेको छ ।