ताजा पोस्ट :

कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी

26500

सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वव्यापी महामारीका रूरुपमा फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर नेपालमा समेत बढ्दै गएकाले सोको रोकथाम तथा नियन्त्रण, निदान र उपचारका लागि आदेश जारी गरिएको बताउनुभयो ।

सरकारले आदेशमार्फत सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ । गोष्ठी, सेमीनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमद्वारा गर्ने तथा भौतिकरूपमा उपस्थित भई गर्नुपर्ने काम जनस्वास्थ्यका मापदण्ड पालना र एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना मात्र रहने गरी सञ्चालन गर्न अनुमति दिने आदेशमा उल्लेख छ ।

आदेशमा त्यस्ता क्रियाकलाप सञ्चालन गर्दा ७ गतेपछि त्यस्तो कार्यक्रम पूर्णखोप लगाएका व्यक्ति मात्र उपस्थित हुने व्यवस्था मिलाउन पर्नेछ । सरकारले सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, हेल्थ क्लब, जीम, स्वीमिङ पुल, फुटसल, हाटबजार र मानिसको भी’डभा’ड हुने अन्य सबै प्रकारका कार्यक्रम यही माघ १५ गतेसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ ।

आदेशमा विद्यालय, विश्वविद्यालय, कलेज, ट्युशन सेन्टरलगायतका अन्य शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ १५ गतेसम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्ने निर्णय भएको नेपाल सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो । आदेशमा शैक्षिक क्रियाकलाप र शिक्षण सिकाइका गतिविधि भर्चुअल माध्यमबाट सञ्चालन गर्न भनिएको छ ।

विद्यालय र कलेजका पूर्वनिर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सक शिक्षाका सबै किसिमका परीक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन सकिने छ ।

मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने विषय आदेशमा उल्लेख छ । सरकारले सपिङ मल, डिपार्टमेन्ट स्टोर तथा अन्य प्रकारका पसलमा एकपटकमा २५ जनाभन्दा बढी हुन नहुने गरी आदेश जारी गरेको छ । 

जनस्वस्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने गराउने दायित्व सम्बन्धित धनी वा सञ्चालकको हुनेछ । पार्टी प्यालेसमा एकपटक कूल क्षमताको बढीमा एकतिहाइ नबढ्ने गरी बढीमा ५० जना मात्र उपस्थित रहने र सम्बन्धित जिल्ला प्रशासनबाट स्वीकृती लिन पर्नेछ । सरकारले विवाह, व्रतबन्ध, न्वारन र पास्नी जस्ता धार्मिक तथा सांस्कृतिक, सामाजिक कार्यक्रम भौतिक दूरीलगायत जनस्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने भएको छ ।