ताजा पोस्ट :

काठमाण्डौमा बिजुली बस चल्ने , यस्तो छ रुट-सहितको जानकारी

93900

काठमाण्डौमा बिजुलीबाट चल्ने बस गुड्ने भएको छ । निजी क्षेत्रको सुन्दर यातायातले शुरुमा चारवटा बस सञ्चालनमा ल्याउने तयारी गरेको छ । सोमबार दिउँसो भृकुटीमण्डपमा रहेको नेपाल पुलिस क्लबमा बिजुली बसको उद्घाटन हुने सुन्दर यातायातले जनाएको छ ।अघिल्लो हप्ता सुन्दर यातायातले काठमाण्डौको भत्केको पुलमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको थियो । चार्जिङ स्टेशन सञ्चालनमा आएसँगै काठमाण्डौको सडकमा पहिलो पटक निजी क्षेत्रको बिजुली बस गुड्ने भएको हो ।

पहिलो रुटमा बसहरुले चक्रपथ परिक्रमा गर्नेछन् । दोस्रो रुटमा नारायणथान, जावलाखेल–मेडिसिटी अस्पताल पुग्नेछन् ।साथै तेस्रो रुटमा गोगंवु–सामाखुसी–गौशला–कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्नेछन् ।चौथो रुट अन्तर्गत ढुंगेअड्डा–कलंकी–त्रीपुरेश्वर–वीर अस्पताल–जमल–कृष्णपाउरोटी–रातोपुल–गौशला–चावहिल–बौद्ध–जोरपाटीस्थित अत्तरखेलसम्म पुग्नेछन्।त्यसैगरी अन्तिम रुट सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीरअस्पताल र जमल रहेको छ।विद्यु तीय बसको संख्या बढाउँदै लगेपछि सोही अनुसार रुट कायम गरिने सुन्दर यातायात सञ्चालन समितिले जनाएको छ।

सुन्दर यातातातका अनुसार बस ४० सिटे र ३५ सिटे गरी दुई प्रकारको छ । ४० सिटे बसमा अरु ३० जना यात्रुले र ३५ सिटे बसमा अरु २५ जना यात्रुले उभिएर आरामका साथ यात्रा गर्न सक्ने सुन्दर यातायात सञ्चालक समितिका सदस्य सुरेश पोखरेलले बताउनु भयो ।अरु बसको तुलनामा यो बसमा सिटको व्यवस्थापन फरक तरिकाले गरिएको छ । बसमा अगाडि मात्र बस्न र उभिन खोज्ने यात्रुलाई ध्यान दिंदै पछाडिको सिट आकर्षक बनाइएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार पछाडिको सिट सिनेमा हलको बाल्कोनीजस्तै हुनेछ ।

यसले गर्दा सिटमा बस्न खोज्नेहरु पछाडि जाने र गाडीभित्रको चापलाई व्यवस्थित गर्न सकिने कम्पनीले जनाएको छ । बसको अगाडि भागमा आरक्षित सिटहरु रहेको हुनाले भिड पनि कम हुने सदस्य पोखरेलले भन्नुभयो । ‘यो बसको आकर्षण भनेको नै यात्रुलाई पछाडि भागमा राखेर यात्रु चढ्न र ओर्लनका लागि सजिलो बनाउनु हो’ उहाँले भन्नुभयो ।बसमा आरक्षण सिट पनि सहजै पहिचान गर्न सकिन्छ । त्यस्ता सिटहरु यात्रुको चाप नहुने भागमा राखिएको छ । सीसी क्यामेराको प्रशस्त प्रयोग, जीपीएस ट्रयाकिङ, एयर कण्डिसनको सुविधाले झन् बसलाई अझ यात्रुमैत्री बनाउने सुन्दर यातायातले जनाएको छ ।