ताजा पोस्ट :

कैलाली र कञ्चनपुरमा भिषण हावाहुरी, एकको मृत्यु, ४० घाइते

9600

काठमाडौं । पश्चिम नेपालको कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीले व्यापक क्षति पुर्याएको छ । हावाहुरीमा परी बालकालिकासहित ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी ज्ञानबहादुर विष्टले डिसी नेपाललाई जानकारी दिए । 

उनका अनुसार घाइतेहरुको कञ्चनपुरस्थित महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुमा धेरैजसो बालबालिका परेका छन् । 

टोर्नाडोकै जस्तो अनुभुति भएको डीएसपी विष्टले बताए । उनले भने, ‘यो केही दिनअघि पूर्वी तराईँमा आएको जस्तै थियो, तर यसको प्राविधिक कुराबारे अलि पछि थाहा होला ।’ उनका अनुसार भीमदत्त नगरपालिकाका वडा नम्बर १, ३, ११, १२ र १७ सबैभन्दा धेरै प्रभावित भएका छन् । यद्यपी क्षतिको पूर्ण विवरण भने आउन सकेको छैन । घाइतेहरुको उपचारमा प्राथामिकता दिइएको भन्दै डीएसपी विष्टले शुक्रबार अन्य भौतिक क्षतिको विवरण संकलन गरिने बताए । उनले केही स्थानमा विद्युत पोलहरु ढलेको समेत बताए । 

घरका छाना उडाउँदा तथा केही रुखका हाँगा भाँचिएर उनीहरुलाई चोटपटक लागेको हो । 

यस्तै राससका अनुसार कैलालीका विभिन्न ठाउँमा बिहीबार साँझ आएको हावाहुरीले धनमालको क्षति गरेको छ । हुरीबतासका कारण धनगढी उप–महानगरपालिका क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । 

झण्डै एक घण्टासम्म चलेको हावाहुरीका कारण १३ जना घाइते भएको प्रहरी निरीक्षक प्रकाश डाँगीले जानकारी दिए । ठउँ ठाउँमा रुख ढलेका छन् भने बिजुलीका खम्बा ढल्दा विद्युत् आपूर्ति बन्द भएको छ । हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा सयौँ घरमा क्षति पुगेको प्रहरी निरीक्षक डाँगीले बताए ।