ताजा पोस्ट :

२०७६ साल यस्तो रहनेछ ( प्राकृतिक प्रकोप,भूक्षयलगायतका समस्या): थाहापाउनुहोस् तपाईको राशिफलबाट

7750

नेपालीहरुका बीचमा परस्पर झै–झगडा, कलह र वैमनस्यताको स्थिति प्रबल रुपले बढ्ने सम्भावना रहेको छ । शनि ग्रह राजाको भूमिकामा र सूर्य ग्रह मन्त्रीको भूमिकामा रहेका छन् । एक आपसमा शत्रुको व्यवहार गर्ने यी दुई ग्रहहरु पारिवारिक ग्रह हुन् । शनि सूर्यको पुत्र हुन् । पुत्र राजा र पिता मन्त्री भएको हुँदा राज्यको प्रधान कार्यकारी शक्ति प्रधानमन्त्री र मन्त्रीहरुबीच समन्वय, सहयोग र सहकार्य नहुने सम्भावना रहेको छ ।

आन्तरिक कलह देखा पर्नेछ । सरकार परिवर्तनका लागि कसरत हुनेछन् ।मन्त्रीहरुको फेरबदल हुनसक्नेछ । नेपालको वृश्चिक राशि भएकोले पञ्चाङ्ग अनुसार बुद्धि स्थानमा रहेको बुध ग्रह नीच भइ बसेको छ । त्यसको कारण नेपाली राजनीतिक नेतृत्वको बौद्धिकस्तर कमजोर देखिनेछ । अन्तराष्ट्रिय सम्बन्ध हेर्ने सूर्य सबैभन्दा शक्तिशाली देखिएको छ । त्यसैले नेपालमा बाह्य प्रभाव पर्नेछ । त्यसैले आर्थिक क्षेत्रमा वैदेशिक लगानी र सहयोग बढेर जानेछ ।

वृश्चिक राशिमा शनिको कुदृष्टि भएकाले निर्णायक व्यक्तिका निर्णय विवादित भएर निर्णयहरु कार्यान्वयनमा नआउन सक्छन् । नेपालको राशि कुण्डली अनुसार धनेश वृहस्पति स्वगृही भइ बसेको हुँदा आर्थिक प्रगतिका स्रोतहरु प्रशस्त मात्रामा देखिनेछन् तर शनि र केतुको संयोग दृष्टिले त्यसको सहि उपयोग नहुने सम्भावना पनि उत्तिकै रहेको छ । प्राकृतिक प्रकोप,भूक्षयलगायतका समस्याले सताउनेछ । साउन, पुस र चैत महिनामा सवारी–साधनको दुर्घटना बढ्नेछ ।

नेपाल सरकार र सुरक्षा निकायबीच केही असन्तुष्टि मनोमालिन्य बढ्ने देखिन्छ । नौ वटै ग्रहहरु अनवरत रुपमा आ–आफ्ना कक्षमा घुमिरहेका छन् । ग्रहहरुको स्थान परिवर्तनअनुसार तिनीहरुले पार्ने प्रभाव पनि फरक–फरक हुन्छन् । वर्ष दिनमध्ये पनि प्रत्येक महिनामा, हरेक दिनमा ग्रहको प्रभाव फरक–फरक पर्दछ । त्यसैगरी समय अनुसार फल पनि फरक–फरक हुन्छ । त्यसैले यस्ता ज्योतिषिय कुराहरुलाई एक आँखा र एक मनले विश्लेषण गर्नुभन्दा धेरै प्रकारले विश्लेषण गर्नु राम्रो मानिन्छ ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) मेष राशिहरुका लागि जेठ ८ गतेसम्म वृहस्पति धनु राशिमा रहने भएकाले उक्त समयमा आँटेको काममा सफलता मिल्नेछ । जेठ ८ देखी कार्तिक १३ सम्म वृहस्पति आठौ भावमा रहने भएकाले कार्यमा बाधा आउनेछ । सरकारले दुख दिन सक्छ । कार्तिक १३ बाट भने राम्रो समय आउनेछ । विमा एवं वित्तिय संस्थामा गरेको लगानी लाभदायी हुनेछ । सेयर बजारमा लगानी गर्नेहरुका लागि भने राम्रो नहोला । तरल एवं जल पदार्थमा गरेको लगानीले सफलता मिल्नेछ ।

आर्थिक दृष्टिले असार असोज, माघ र फाल्गुन महिनामा राम्रा छन् भने साउन र कार्तिक महिना अनुकूल हुँदैनन् । प्रेम प्रसंग सहज नहोला । अध्ययन तथा अध्यापनको शिलशिलामा विदेश योग छ । विद्यार्थीहरुले बौद्धिक कार्यमा प्रगति हासिल गर्नेछन् । रोजगारमा श्रमको उचित मूल्यांकन हुनेछ । वित्तिय संस्थामा गरेको लगानीे राम्रो हुनेछ । जागिरमा पदोन्नतिको सम्भावना छ तर शत्रु लागि परेकोले चनाखो हुनुहोला । स्वास्थ्यमा सामान्य समस्या भएर अनावश्यक उपचार खर्च बढ्नेछ । चोट पटकको भय योग रहेकाले बालगणेशको स्मरण गरि यात्रा गर्दा राम्रो होला ।

वृष (ई, उ, ए, ओ, बा, बी, बू, बे, बो) वृष राशि भएकाहरुका लागि २०७६ फाल्गुन ४ गतेसम्म शनि राम्रो स्थानमा रहेकोले भौतिक सुख प्राप्त भैरहनेछ । वैदेशिक यात्रा पनि हुन सक्छ । फाल्गुन ४ गते पछि शनिको अढैयाले गर्दा झुटा आरोप एवं झमेलामा पर्ने सम्भावना रहेको छ । व्यावसायिक दृष्टिले यस वर्ष मिश्रित फल मिल्ला । कृषि व्यवसायबाट धन कमाइएला । घरजग्गा कारोबार पनि राम्रो हुनेछ । नयाँ ठाउँमा लगानी गर्दा विचार पुर्याएर लगानी गर्नुहोला । शेयर बजारमा लगानी डुब्ने सम्भावना छ । आर्थिक दृष्टिले भाद्र र मंसिर महिनामा खर्च बढ्ने र श्रावण, कार्तिक र चैत्र महिनामा राम्रो रहनेछ

प्रेम सम्बन्धमा रहेकाहरूले वैवाहिक जीवन प्रारम्भ गर्नेछन् । मित्रसँगको विवाद सुल्झनेछ । पारिवारिक सम्बन्धलाई मजबुत बनाउन शुभ तथा मांगलिक कार्य गर्नुहोला । विदेशिएका आफन्तहरूसंँगको सम्बन्ध राम्रो नहोला । विद्यार्थीहरूलाई अध्ययनमा मन नजान सक्छ । विज्ञान तथा राजनीतिक क्षेत्रका शिक्षार्थीहरूलाई विशेष सफलता मिल्नेछ । जागिरबाट त्यति सफलता प्राप्त नहोला । वैदेशिक रोजगार राम्रो हुनेछ । प्रतिस्पर्धा आफ्नो अनुकूल रहनेछ । कानुनका न्यायिक निर्णहरु तपाईको पक्षमा नहुन सक्छन् । पेटको समस्या रहनेछ । परिवारको स्वाथ्यमा धन खर्च होला । मंगलवार गणेश, शनिवार भैरव र सोमवार शिवको दर्शन गर्नाले राम्रो हुनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) मिथुन राशीहरुका लागि यो वर्ष बृहस्पति र शनि सातौ भावमा रहनाले परिवारमा मंगल कार्यको योग बन्नेछ । वर्षको मध्यमा भने केहि समस्या आउन सक्छन् । मीठा लाभदायक भ्रमणहरू हुनेछन् । नयाँ काम एवं रोजगारको अवसर आउन सक्छ । वर्षको अन्तिममा अनावश्यकसमस्या आईपर्ने, काम बिग्रिने, झुटा आरोप लाग्ने, काममा ढिलासुस्ती हुने, चोट पटकको त्रास रहन सक्छ । नयाँ व्यावसायमा लगानी गर्दा अग्रजको सल्लाह एवं सुझावलाई मनन गर्नुहोला । विशेषगरि होटल व्यवसाय गर्नेहरुका लागि यो बर्ष निकै राम्रो हुने देखिन्छ । घर जग्गा कारोबारमा नलाग्नुहोला ।

आर्थिक दृष्टिले वैशाख, भदौ, चैत्र र फाल्गुन महिना राम्रो छ भने असार र पुष महिनामा खर्च हुनेछ । प्रेम र मित्रता गाढा हुँदै जानेछ । तर असोजदेखि मंसिर सम्म प्रेमिका तथा जीवनसाथीसँग नचाहँदा नचाहाँदै पनि सम्बन्ध बिग्रन सक्छ । विद्यार्थीहरूलाई अध्ययन अध्यापनको क्षेत्रमा पूर्वार्ध भन्दा उत्तरार्धमा सफलता मिल्नेछ । सरकारी कर्मचारीहरुको लागि यो वर्ष निकै राम्रो हुनेछ । मनोरञ्जन र कुटनीतिको क्षेत्रमा काम गर्नेहरुलाई राज्यबाट सम्मान मिल्नेछ । स्वास्थ्यमा सामान्य समस्या देखिने हुँदा उपचार खर्च बढ्नेछ । नाक, कान तथा आँखामा पनि समस्या आउन सक्छ । आफ्नो इष्टदेवको पूजा, आराधना, एवं हनुमानको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) कर्कट राशिहरुको लागि यो वर्ष राम्रो हुनेछ । मनमा शान्ति हुनेछ । बृहस्पति र शनि दुबै ग्रहको शुभ दृष्टि रहेको छ । प्रायः काममा शुभ फल मिल्नुका साथै सन्तान सुख मिल्नेछ । स्वास्थ्य स्थिति सामान्य रहेपनि वायुविकार तथा नसाको समस्या बढ्न सक्छ । धार्मिक क्षेत्रमा रुचि बढ्नुको साथै मांगलिक कार्यहरु सम्पन्न हुनेछन् । राजनीतिक तथा सामाजिक कार्यमा सफलता मिल्नेछ । फेन्सी तथा सजावटका व्यवसायीलाई राम्रो हुनेछ । असार महिनामा केहि धनसामान हराउन सक्छ ।

आर्थिक दृष्टिकोणले जेठ, असोज र पौष महिना शुभ रहनेछन् । लामो समयसम्म प्रेम सम्बन्धमा रहेकाहरुले दाम्पत्य जीवन प्रारम्भ गर्नेछन् । शैक्षिक क्षेत्र उत्तम रहेको छ । यो वर्षमा नयाँ रोजगारको अवसर मिल्ने सम्भावना छ । कर्मचारीहरुलाई भने सरुवा बढुवा हुनसक्छ । अध्ययन वा रोजगारकालागि विदेश जानेहरुका लागि राम्रो छ । भाग्यवृद्धि गराउन शिवको दर्शन, पूजा एवं आराधना गर्नु उत्तम हुनेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) सिंह राशि हुनेहरुका लागि २०७६ साल सामान्य हुनेछ। जेठ ९ गतेबाट कर्तिक १३ सम्म केन्द्रमा रहने वृहस्पतिले पारिवारिक सम्बधमा सुधार ल्याउनेछ । भाग्य स्थानमा रहेको वृहस्पतिलाई शनि र केतुले बाधा दिदाँ धेरै मिहिनेत गर्दा मात्र थोरै प्रतिफल मिल्नेछ। देश विदेश तथा धार्मिक यात्राहरू हुनेछन् । आर्थिक दृष्टिले जेठ सम्म आर्थिक समस्या बढेपनि जेठपछि सामान्य हुँदै जानेछ । मेसिनरीका क्षेत्रको लगानीले सफलता दिनेछ । खाद्यान्नकोे लगानीले दीर्घकालीन प्रतिफल मिल्नेछ । आर्थिक दृष्टिले कार्तिक र माघ शुभ हुनेछन् ।

प्रेम सम्बन्धमा केहि अफ्ठ्यारो परिस्थिति सिर्जना हुनेछ । श्रीमान् श्रीमतीबीच बेमेल हुन सक्छ । विद्यार्थीहरुका निम्ति शैक्षिक क्षेत्र सामान्य रहनेछ । विद्यार्थीहरूका लागि जेठ र चैत्र महिनामा विद्या र बुद्धिमा ह्रास आउनेछ । वित्तिय संस्थामा आबद्ध व्यक्तिहरुलाई राम्रो हुनेछ । नयाँ व्यापार वा रोजगारको अवसर मिल्नेछ । टाउकाको समस्या र पेट रोग बढ्न सक्छ । हाड तथा आँखाको समस्या बढ्नेछ । मंगलवार गणेश तथा हनुमानको दर्शन एवं आराधना गर्दा राम्रो हुनेछ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) यो वर्ष कन्या राशिका लागि उत्तम हुनेछ । मान सम्मान एवं पदोन्नति हुने योग छ । बाहन सुख मिल्नेछ । फाल्गुन ४ गते सम्म अढैया शनिको प्रभावले गर्दा कार्यमा समस्या आउन सक्छ । अन्तिम समयमा काम नबन्न सक्छ । मनमा नराम्रा विचार आउन सक्छन् । वैदेशिक क्षेत्रमा सफलता हुनेछ । फेन्सी व्यापार राम्रो हुनेछ । घरजग्गाको कारोबार सन्तोषजनक नहोला । श्रावण, मङ्सिर र फाल्गुन महिना राम्रो रहनेछ । प्रेम प्रणयका लागि राम्रो समय रहेको छ ।

प्रेम सम्बन्धले दाम्पत्य जीवनमा प्रवेश गर्न सक्नेछ । आफन्तहरुको सहयोग मिल्नेछ । शैक्षिकक्षेत्र अनुकूल रहनेछ । प्राविधिक विषयका विद्यार्थीहरूलाई भने विशेष सफलता मिल्नेछ । शेयर बजारको लगानी फलप्रद रहनेछ । राजनीतिक तथा सामाजिक क्षेत्र भने राम्रो नहोला । रक्तसञ्चार तथा स्वास प्रस्वासको समस्या बढ्ने सम्भावना छ । स्वाथ्य उपचारमा धन खर्च बढ्नेछ । सफलता प्राप्ति गर्न दुर्गा माता र हनुमानको पूजा एवं आराधना गर्दा राम्रो हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) तुला राशिका लागि यो वर्ष मध्यम रहेको छ । वर्षको पूर्वार्ध भन्दा उत्तरार्ध राम्रो हुनेछ । तुला राशि हुनेहरुका लागि फाल्गुन ४ गतेबाट अढैया शनिको प्रभावले गर्दा कार्यमा समस्या आउन सक्छ । देश विदेशको यात्रा हुन सक्छ । शेयर बजार तथा ढुकुटीबाट सफलता मिल्नेछ । धातुको लगानीले लाभ मिल्नेछ । वैशाख र श्रावण महिनामा धनसम्पत्ति हराउने योग छ । श्रावण, पुष र चैत्रमा शुभ फल मिल्नेछ । प्रेमजोडीहरूको सम्बन्ध पारिवारिक समर्थनमा विवाहमा परिणत हुनेछ ।

कार्तिकपछि भने प्रेमी र प्रेमिकाका घर परिवारमा केहि अफ्ठ्यारा परिस्थितिहरु सिर्जना हुन सक्छन् । शैक्षिक क्षेत्र मध्यम रहनेछ । अध्ययनको कारणले विदेश जाने योग छ । विद्यार्थीहरूलाई भाद्र र माघ महिनामा विद्या र बुद्धिमा ह्रास आउनेछ । पुराना रोगहरु बल्झिने तथा दीर्घकालीन रोग लाग्न सक्नेछन् । कान तथा आँखामा समस्या देखा पर्न सक्छन् । मंगलवार गणेश र शुक्रवार लक्ष्मीको पूजा एवं उपासनाले लाभ मिल्नेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) आश्विन महिनामा केहि संघर्षको सामना गर्नु परेपनि अरु समयमा वृश्चिक राशी हुनेहरूको लागि राम्रो रहनेछ । फाल्गुन ४ गतेसम्म शनिको अन्त्य साढेसाती रहेकोले जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूलाई काम बिग्रने समस्या र चोटपटकको भय पनि रहनेछ । व्यापार व्यवसायबाट चमत्कारी लाभ मिल्नेछ । धातुजन्य व्यवसायबाट अधिक सफलता मिल्नेछ । भाद्र, आश्विन, माघ महिनामा लाभदायक परिणाम प्राप्त हुनेछ । प्रणयप्रसङ्गका लागि सफलता पाउन बुद्धि पुर्याउनुपर्नेछ ।

नयाँ प्रेम प्रस्ताव समेत आउन सक्नेछ । टाढाका साथीबाट भरपूर सहयोग मिल्नेछ । अध्ययन अध्यापनको क्षेत्रमा कार्तिक महिनाबाट बढी सफलता मिल्नेछ । राजनैतिक कर्मीहरुलाई राम्रो सफलता मिल्नेछ । राजनीति तथा समाजसेवामा लागेकाहरुले जनताको समर्थन प्राप्त गर्नेछन् । नयाँ ठाउँमा नयाँ रोजगारको अवसर सिर्जना हुनेछ । रगत सम्बन्धि समस्या,पेटको समस्या बढ्न सक्नेछ । घाँटी तथा हात गोडामा पनि सामान्य समस्या देखिन सक्छन् । मंगलवार गणेश र शनिवार भैरवको दर्शन गर्नाले लाभ मिल्नेछ ।

धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे) धनु राशि भएका व्यक्तिहरुलाई वर्ष भर शनिको मध्य र अन्त्य साढेसाती रहेको कारण विविध समस्या झेल्नुपर्ने, अन्तिम समयमा आएर काम बिग्रिने, आरोप लाग्ने र शरीरमा आलस्य र मनमा नैरास्यता बढ्नेछ । तर जन्मकुण्डलीमा शनि ग्रह स्वगृही, उच्च, मित्रगृही छ भने शनिको नकारात्मक फल लाग्दैन । व्यापार व्यवसायमा उतार चढाव आउनेछ । कसैलाई नगदी सापटी दिंदा पैसा फस्ने, धनमाल हराउने योग छ । पहिरन तथा सजावटमा गरेको लगानीबाट सफलता मिल्नेछ । जेठ, असार र फाल्गुन महिना शुभ रहनेछ । आफन्तसंँग रहेको पुरानो मनमुटाव समाप्त हुनेछ । प्रेमी र प्रेमिकाका बीच सामिप्यता बढ्नेछ । पढाई लेखाई सामान्य नै रहनेछ ।

गणित क्षेत्रका विद्यार्थीहरूलाई सफलता मिल्नेछ । अध्ययनको शिलशिलामा विदेशको यात्रा हुनेछ । असार र मंसिर महिनामा विद्या र बुद्धिमा ह्रास आउनेछ । नयाँ जागिर वा रोजगार मिल्नेछ तर शनि कमजोर हुनेहरुका लागि सोचे अनुरुप काम नबन्न सक्छ । नसा तथा छातीमा समस्या आउन सक्नेछ । हात गोडामा चोटपटकको भय रहनेछ । प्रजनन शक्तिमा ह्रास आउने सम्भावना छ । सोमबार शिव र शुक्रवार दुर्गाको पूजा गरेमा राम्रो हुनेछ । गरिब तथा अपाङ्गहरूलाई सहयोग गर्ने र वर पीपललाई उचित स्थानमा वृक्षारोपण गर्नले ग्रहपिडा कमभई भाग्य वृद्धि हुनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) मकर राशिहरूकालागि यो वर्ष चुनौतिपूर्ण रहनेछ । बृहस्पति ग्रहले गर्दा ख्याती कमाउने योग रहेकोछ । शनिको साढेसातीको प्रभावले जन्म कुण्डलीमा शनि उच्च तथा स्वगृह, मित्रगृह भए शुभ फल प्राप्त हुनेछ अन्यथा शनि कमजोर हुनेहरुका लागि झुटा आरोप लाग्ने, गरेको कार्यमा बिलम्ब हुने तथा चोटपटकको भय रहनेछ । व्यापारका दृष्टिले यो वर्ष मध्यम रहनेछ । धेरै समय देखि रोकिएको धन हात पर्नेछ । गहनाको व्यापार फस्टाउनेछ । सेयर कारोवारको लगानी भने कमजोर रहनेछ । घरजग्गाको कारोवारमा समस्या आउनसक्छ । साउन, असोज र पुष महिनामा कुनैपनि कारोवारमा लगानी नगर्नुहोला ।

प्रेमजोडीहरूको सम्बन्ध पारिवारिक समर्थनमा विवाहमा परिणत हुनेछ । सहकर्मी तथा आफन्तसँग मनमुटाव कम हुनेछ । कार्तिकबाट घरमा आफन्त तथा प्रेमीसंग केही अफ्ठ्यारो परिस्थितीहरु सिर्जना हुन सक्नेछन् । विदेशमा रहेका विद्यार्थीहरूले मनोवाञ्छित सफलता पाउनेछन् । सरकारी जागिर खानेहरूका लागि पनि यो बर्ष स्थानान्तरण हुन सक्नेछ । मुद्दा मामिलाहरु तपाईको पक्षमा नहुन सक्छन् । स्वास्थ्य मुख तथा दाँतमा समस्या आउन सक्छ । खुट्टामा चोट पटकको भय रहनेछ । दुर्गाको पूजा एवं दुर्गा पाठ गर्ने र शनिवार पीपलमा जल चढाउनाले ग्रहपीडा कम हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) यस वर्ष कुम्भ राशी हुनेहरूका लागि आँटेको कार्यले पूर्णता पाउनेछ । वृहस्पतिको प्रभावले गर्दा भौतिक सुख तथा वाहन लाभ हुनेछ । फाल्गुन ४ गतेबाट शनिको आद्य साढेसाती रहेको कारणले गर्दा कार्यमा समस्या आउनेछन् । कृषि तथा चौपायामा गरेको लगानी फस्टाउनेछ । होटल व्यवसायीहरुका लागि यो बर्ष फाइदाजनक हुने देखिन्छ । फाल्गुन ४ गतेबाट व्यापारमा अपेक्षाकृत लाभ नहुने र आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । बैशाख, साउन र पुष महिना शुभ रहनेछन् । प्रेमी र प्रेमिका दाम्पत्य सुखमा रमाउने समय रहेको छ ।

तर सन्तानको मायामा भने कमि आउनेछ । शिक्षा पढाई लेखाईमा उल्लेख्य सुधार हुनेछ । विदेशिएका विद्यार्थीहरूले पनि सफलता पाउनेछन् । पेसा वा रोजगारमा श्रमको उचित मूल्यांकन हुनेछ । ईनाम र प्रतिष्ठा कमाइनेछ तर शत्रु पछि पर्नाले सरकारी निकायको भय रहनेछ । सञ्चार तथा कला क्षेत्रमा आबद्ध व्यक्तिहरुलाई निकै राम्रो हुनेछ । वायु ,हाड तथा रक्तसंचारको समस्या बढ्नेछ । पारिवारिक स्वास्थ्य उपचारमा खर्च हनेछ । शिवको आराधना र पीपलको पूजा गर्नाले आकस्मिक एवं चमत्कारी सफलता मिल्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) २०७६ साल मीन राशि भएका व्यक्तिहरुका लागि राम्रो रहेको छ । बृहस्पति र शनि ग्रहको शुभ दृष्टिले सन्तान सुख मिल्नेछ । घरमा मांगलिक कार्यको योग रहेको छ । श्रावण र आश्विन महिनामा भने सोचेजस्तो नहोला । बैदेशिक क्षेत्रका लागि समय राम्रो छ । घर जग्गाको कारोबारबाट भनेजस्तो आम्दानी सँगै विवाद पनि बढ्नेछ । सेयर बजारमा उतारचढाव हुनेछ । फेन्सी तथा सजावटको व्यापारले आम्दानी दिनेछ । असार, भाद्र र पुष महिनामा राम्रो हुनेछ तर कार्तिकमा खासै राम्रो नहोला ।

लामो समयदेखि प्रेम सम्बन्धमा अल्झेकाहरूले वैवाहिक जीवन प्रारम्भ गर्नेछन् । टाढिएका मित्रसँग नजिकिने समय छ । नयाँ रोजगारको अवसर मिल्नेछ । प्रतिस्पर्धामा उत्तीर्ण भई नयाँ जागिरको अवसर सिर्जना हुनेछ । अध्ययन वा रोजगारका लागि विदेश जानेहरुका लागि राम्रो रहेको छ । तरल तथा इन्धनमा गरेको लगानीबाट सन्तोष नहोला । श्वास प्रश्वास, कान तथा आँखामा समस्या बढ्नेछ । दैनिक गणेश तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ ।