ताजा पोस्ट :

स्थानीय तह निर्वाचन २०७९: ३५५ जना भए निर्विरोध

67100

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्यको आवधिक निर्वाचन अन्तिम र महत्त्वपूर्ण चरणमा प्रवेश गरेको जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै आयोगले स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरुबाट सम्पूर्ण तयारीहरु पूरा भइसकेको जनाएको हो ।

यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारीहरु निर्विरोध निर्वाचित भइ सकेको आयोगले जानकारी दिएको छ । जसमा ६ वडा अध्यक्ष सहित ३५ जना स्वतन्त्र सदस्यहरु निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।

निर्वाचनमा १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरुबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले जम्मा ३५ हजार २ सय २१ जना मध्ये निविरोध निर्वाचित भएका वाहेकका पदमा प्रतिनिधि छनोट गर्नका लागि मतदान गर्ने आयोगले जानकारी दिएको छ । मतदान केन्द्रमा आवश्यक हुने निवाचन सामग्रीहरु सहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयसेवकहरु आ-आफनो मतदान केन्द्रमा पुगिसकेको आयोगले जनाएको छ ।