ताजा पोस्ट :

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने - मौसम विभाग

45000

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आँकलन गरेको छ । शुक्रवार काठमाडौंमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यस वर्ष सरदर भन्दा बढी वर्षा हुने आँकलन गरिएको जनाएको हो ।

विभागको आँकलनअनुसार आगामी जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । प्रदेश १ का तराईका भूभाग, वागमती प्रदेशका उत्तर पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर पश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सुदर्शन हुमागाँईले सुदूरपश्चिम प्रदेशका पूर्वी भूभाग, कर्णाली प्रदेशका मध्य भूभाग, गण्डकी प्रदेशका मध्य पश्चिमी भूभाग र प्रदेश १ को मध्य भूभागहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म रहेको बताए ।

उनले गण्डकी प्रदेशको उत्तरी भूभाग र सुदूरपश्चिम प्रदेशका मध्य तथा पश्चिमी भूभागहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले हनुमान गरेको बताए । उनकाअनुसार प्रदेश १ को उत्तरी भूभाग, वागमती प्रदेशको दक्षिणी भूभाग र मधेस प्रदेशका अधिकांश भूभागहरुमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको पनि विभागको आँकलन छ ।