ताजा पोस्ट :

२९ औं प्रहरी महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंह नियुक्त

25200

काठमाडौँ- सरकारले धिरज प्रताप सिंहलाई २९ औं प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा बढुवा गरेको हो ।

आईजीपीमा नियुक्त सिंहले २०७९ वैशाख ३० को स्थानीय तहको निर्वाचन गराउने छन् । बरियताको तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहले तत्कालीन अपराध महाशाखा हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड गरेका थिए । 

आईजीपीका प्रतिस्पर्धीहरु एउटै मितिमा प्रहरीमा भर्ना भएपनि फरक समयमा एआईजीमा बढुवा भएका थिए । विश्वराज पोखरेललाई २०७७ मंसिर २५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजीमा बढुवा गरेको थियो । सहकुल थापा २०७८ असार २४ मा एआईजी भएका हुन् ।

२०७८ चैत १७ मा धिरजप्रताप सिंह र रबिन्द्रबहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरेको थियो । एआईजीको बरियताअनुसार विश्वराज अरु प्रतिस्पर्धीभन्दा १६ महिना सिनियर थिए । सहकुलबहादुर थापा एआईजी भएको ९ महिना पुरा भएको छ । सिंह र धानुक एआईजीमा बढुवा भएको १ महिना पुरा भएको छ ।