ताजा पोस्ट :

देशैभरीबाट स्थानीय तहको निर्वाचनमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित

16400

काठमाडौं - स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले बताएको छ।  निर्वाचन आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले देशभरबाट विभिन्न पदमा ३५३ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएको बताएका हुन् ।

त्यसैगरी १७० दलित महिला सदस्य पदमा उम्मेदवारी दर्ता नै नभएको पनि उनले जानकारी दिए । आयोगले नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र राप्रपाले निर्वाचन आचारसंहिता उल्लंघन गरेकाले सम्बन्धित दललाई सचेत गराएको र आगामी दिनमा आचारसंहिता विपरितका काम नगर्न निर्देशन दिएको छ ।

त्यस्तै आयोगले निर्वाचनका बेलामा इन्टरनेट सेवा बन्द हुने अवस्था आएमा निर्वाचनको व्यवस्थापनमा गम्भीर असर पर्ने भन्दै यस्तो अवस्था आउन नदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । निर्वाचनका लागि हालसम्म ६४ जिल्लाका लागि १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरिसकिएको आयोगका सहायक प्रवक्ता अर्यालले जानकारी दिए ।