ताजा पोस्ट :

ओमिक्रोन बढी सङ्क्रामक : खोप नलगाएका व्यक्तिको ज्यान जाने पनि खतरा

23500

कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप नलगाउनेहरूमा यसको जोखिम बढी हुने चिकित्सकहरूले बताएका छन् । खोप नलगाउने व्यक्तिमा तत्काल रोगको सङ्क्रमण हुनसक्ने उनीहरूको दाबी छ । भरतपुर अस्पतालका अध्यक्ष फिजिसियन डा भोजराज अधिकारीले खोप (भ्याक्सिन) नलगाएको समुदायमा कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको बढी खतरा हुने बताए । अहिलेसम्मको अध्ययनले खोप लगाएको तर, ओमिक्रोनबाट सङ्क्रमित भएका व्यक्तिमा जटिल समस्या अत्यन्त कम देखिएको छ भने खोप नलगाएको व्यक्तिमा यसको जोखिम बढी हुने उनले बताए । चिकित्सक अधिकारीले भने, ‘कोरोना भाइरस सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा छिटोछिटो फैलिएको छ ।’ २४ नोभेम्बरमा दक्षिण अफ्रिकाबाट पत्ता लागेको कोभिडको तेस्रो म्युटेसन भेरियन्ट ओमिक्रोन भएको भन्दै उनले कुनै पनि भाइरस स्वरुपपरिवर्तन अथवा म्युटेसन हुँदा यो बढी गम्भीर भएर जानसक्छ अथवा सामान्य भाइरस बनेर हराएर जान पनि सक्ने बताए ।  ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ओमिक्रोन भेरियन्टको अन्य भेरियन्ट जस्तै मानिसमा लक्षण हुने गरेको बताए, ओमिक्रोनले पार्ने असरका बारेमा थप अध्ययन अनुसन्धान भइरहेको उनको भनाइ छ । पछिल्लो एक हप्तामा कोरोना सङ्क्रमण विश्वभर एक करोडमा पुष्टि भएको छ । यति धेरै सङ्क्रमण हुनुको कारण ओमिक्रोन भेरियन्ट नै रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । ओमिक्रोनले कोरोना खोप लगाएका/नलगाएका दुवैलाई सङ्क्रमण हुन सक्दछ । सङ्क्रमित भएकामध्ये खोप नलगाएकालाई धेरै गार्‍हो बनाउन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ । खोप नलगाएका व्यक्तिको ज्यान जाने पनि खतरासमेत रहेको छ । जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले ओमिक्रोन भेरियन्टले मानिसको घाँटीमा सङ्क्रमण गराउने बताए ।