ताजा पोस्ट :

आमाको वंश छनोट गर्ने सन्तानलाई आमाको मात्र नाम राखेर नागरिकता दिन सर्वोच्चको आदेश

23500

सर्वोच्च अदालतले आमाको नामबाट नागरिकता दिन परमादेश जारी गरेको छ। बाबुको पहिचान खुले पनि पारिवारिक कारणले सन्तानले आमाको नामबाट मात्र नागरिकता लिन चाहे उपलब्ध गराउनुपर्ने सर्वोच्चको निर्णय छ।

काठमाडौं महानगरपालिका ३ की तनिसी चन्दको मुद्दामा न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आमाको मात्र नाम उल्लेख गरी नागरिकता पाउने आदेश जारी गरेको हो।

आमा र बाबुबीच २०६५ सालमै सम्बन्ध बिच्छेद भएको र बाबुले छोरीप्रति गर्नुपर्ने व्यवहार, शिक्षादीक्षा, लालनपालन सम्पूर्ण व्यवहार नगरेको, आमा एक्लैले गरेको, आफ्नो जीवनकालको १८ वर्ष पार गर्दा बाबुलाई नदेखेको भन्दै तनिसीले आमाको नाम मात्र उल्लेख गरेर नागरिकता माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

१२ कक्षा उत्तीर्ण गरेर उच्चशिक्षा अध्ययनका लागि अमेरिकाको सिकागोस्थित डिपोल युनिभर्सिटिमा ६० प्रतिशत छात्रवृत्ति पाएर भर्ना गर्नका लागि राहदानी आवश्यक भएको र राहदानी बनाउन चाहिने नागरिकता आमाको नामबाट बनाउन खोज्दा जिल्ला प्रशासन कार्यालय काठमाडौंले दिन नमिल्ने भन्दै फर्काइदिएपछि तनिसीले सर्वोच्चको ढोका ढक्ढक्याएकी थिइन्।

शुक्रबार फैसला सुनाउँदै सर्वोच्चले परमादेश गरेको छ, ‘तनिसी चन्दका बाबु र आमा दुवै नेपाली नागरिक रही दुवैबीच सम्बन्धबिच्छेद भएको, नागरिकता प्राप्त गर्न निवेदकको उमेरबाट योग्य भएको एवं आमाको नाम मात्र राखी नेपाली नागरिकताको प्रमाणपत्र पेस गरी पाऊँ भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आवेदन पेस गरेकामा निज निवेदकको वंश छनोट गर्ने अधिकार रहेको हुँदा निजले आवेदनका साथमा पेस गरेका अन्य कागजातबाट निजको आमा र बाबु दुवैको पहिचान खुलेकाले सो विवरण जिल्ला प्रशासन कार्यालयको ढड्डामा सम्म उल्लेख गरी निजले माग गरेबमोजिम नागरिकताको प्रमाणपत्रमा आमाको नाम मात्र उल्लेख गरी नागरिकता जारी गर्नू ।’