ताजा पोस्ट :

ग्लोबल टेलिभिजन एचडिविरुद्ध खड्काको उजुरी

20500

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सन्तोष खड्काले एक टेलिभिजन उपर प्रेस काउन्सीलमा उजुरी दिएका छन् । ग्लोबल टेलिभिजन एचडिविरुद्ध खड्काले उजुरी दिएका हुन् ।

टेलिभिजनले व्यक्ति केन्द्रीत, कपोकल्पीत प्रोमो प्रशारण गरेको भन्दै टेलिभिजन माथी हदैसम्मको कारवाहीको माग समेत गरेका छन् । व्यक्तिगत प्रतिशोध साध्न केही तत्वहरुले राजनैतिक पूर्वाग्रह राखी सामग्री प्रशारण गरेको र प्रशारित सामग्रीमा आफूसँग कुनै सम्बन्ध र सम्पर्क नराखी एकतर्फीरुपमा  प्रशारण गरेको अध्यक्ष खड्काको आरोप छ ।

प्रोमो प्रशारण भएपछि टेलिभिजनसँग सम्पर्क गरी प्रशारित विषय वस्तुमाथि स्पष्ट पार्दासमेत टेलिभिजनले कुनै सम्बोधन नगरेको र नियतबस मानमर्दन गर्न उद्दत रहेको भन्दै खड्काको आरोप छ ।एक राष्ट्रिय संचार गृहले कपोेकल्पीत असन्तुलित र राजनैतिक अनि व्यक्तिगत प्रतिशोधले यस्ता सामाग्री प्रशारण गर्नु पत्रकार आचारसंहिताको प्रतिकुल भएको भन्दै टेलिभिजन संचालक र सम्पादकलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।

प्रशारित प्रोमोमा जनप्रतिनिधिले लगाए गरिबका उठिबास, खोलामिचि बनाए आलीसान महल, अवैध प्लटिङ्ग सिफारिस दिंदै लाखौंको असुली, अध्यक्षको अवैध सम्पत्ति २५ करोड माथी भन्दै भ्रामक र कपोकल्पित शब्द प्रशारण गरेको थियो ।ग्लोबल टेलिभिजनले प्रशारण गरेको उक्त प्रोमोको लिखित खण्डन गर्दै अध्यक्ष खड्काले काउन्सिलमा उजुरी दिएको र छिट्टै मानहानी उपर सम्मानीत अदालतमा क्षतिपूर्तीसहित निवेदन दिने विषयमा कानूनविद्हरुसँग परामर्श गरिरहेको बताएका छन् ।

ग्लोबल टेलिभिजनले कात्तिक ६ गते शनिबार चन्द्रागिरि नगरपालिका वडा नं। ८ का वडाध्यक्ष सन्तोष खड्काको अवैध धन्दाको खास खुलाशा शीर्षकमा सामग्री प्रशारण गरेको थियो ।