ताजा पोस्ट :

भाइरसले श्वाप्रश्वास प्रणालीलाई मात्र नभई सिस्टमिक  सिस्टमिक इन्फ्लामेशन गराएर मानिसको मृत्यु हुन्छ

4500

भाइरस भनेको एक किसिमको सुक्ष्म जीवाणु हो। जुन हाम्रो नाङ्गो आँखाले देखिँदैन। यसलाई ‘माइक्रोस्कोप’को सहायताले मात्र देख्न सकिन्छ। यिनीहरु एक कोषीयभन्दा पनि साना जीवाणुहरु हुन्। 

यी भाइरसहरु पृथ्वीमा करौडौँ वर्षदेखि बाँचिरहेका छन्। जुन बेला मानिसको अस्तित्व समेत थिएन। मानिसको अस्तित्व सुरु हुनुभन्दा अघिदेखि नै यी भाइरसहरु पृथ्वीमा बाँचिरहेका थिए। सबै भाइरसहरु नराम्रो मात्र हुन्छ भन्ने पनि हुँदैन। कतिपय भाइरसहरु राम्रा पनि हुन्छन्, जसले रोग लगाउँदैनन्। तर कतिपय भाइरसहरु भने रोग लगाउने खालका हुन्छन्। 

रोग लगाउने भाइरसको उदाहरण भनेको अहिलेको सार्स कोरोना भाइरस टु अर्थात् कोभिड १९ हो। यसअघिको २००३ मा देखिएको सार्स, २०१२÷१३ मा फैलिएको मर्स, एचआइभी, इबोला सबै भाइरसकै कारण लाग्ने रोग हुन्। 

यी भाइरसहरु आफै बाँच्न सक्दैनन्। यिनीहरुलाई बाँच्नका लागि केही न केहीको कोषिकाको आवश्यकता पर्छ। बाँच्न र खानका लागि नै भाइरसले कोषिकालाई संक्रमण गर्छ। केहीले भाइरसलाई जीवित र मृतको रुपमा पनि अर्थ लगाउँछन्। तर भाइरस मृत होइनन्। भाइरसले आफू बाँच्नका लागि कोषिका भेट्टाएनन् भने डरम्यान्ट पोजिसन अर्थात् केही नगरी बस्छन्। तर जब भाइरसले मानिस, जीव या केही व्याक्टेरिका कोषिका भेट्टाउँछ त्यसपछि पनि बाँच्न सक्छन्। 

ब्याक्टेरिया भाइरसभन्दा पनि ठूलो हो। तर कहिले काँही भाइरसले पनि ब्याक्टेरियालाई प्रभावित पार्न सक्छ। त्यसैले भाइरस भनेको आफैँ बाच्न सक्दैन। भाइरसलाई बाँच्नका लागि कुनै न कुनै कोषिकाको आवश्यकता पर्छ। भाइरसले सामान्यतया श्वासप्रश्वास प्रणालीलाई असर गर्छ। त्यसको एउटा उदाहरण नै कोरोना भाइरस हो। 

भाइरसहरु मानिस, जीवजन्तु, जनावर वा ब्याक्टेरियाको कोषिकामा बाँधिएर शरीरभित्र पस्छन्। त्यो कोषिकालाई भाइरसले कब्जा गर्छन् र आफ्नो आणुवांशिक तत्वहरु त्यहाँ छिराउँछन्। त्यसपछि यी भाइरसले उक्त कोषिको कामहरुलाई असर गर्छन्।  शरीरभित्र भाइरस छिरेपछि एउटा भाइरसबाट हजाराँै भाइरस निस्कन्छन्। ती हजारौँ भाइरसले फेरि अरु कोषिकालाई पनि कब्जा गर्दै यसको कामहरुलाई असर गर्छन्। एउटा संक्रमित व्यक्तिले हाँच्छ्यु गर्दा या थुक्दा दशौँ हजार भाइरसहरु हुन्छन्। 

फोक्सोभित्र हुने अक्सिजन लिने र कार्बनडाइअक्साइड फाल्ने एक किसिमको कोषिका हुन्छ। तर उक्त कोषिकामा कोरोना भाइरसले असर गर्छ। अक्सिजन लिने र कार्बनडाइअक्साइड फाल्ने जुन काम कोषिकाको छ, त्यो राम्रोसँग हुन पाउँदैन। काममा असर पुगेपछि ती ठाउँहरुमा पानीहरु भरिन थाल्छ। 

शरीरमा भाइरस प्रवेश गरेपछि प्रतिरक्षा प्रणाली सक्रिय हुन्छ। शरीरमा नयाँ वस्तु आएको थाहा पाएपछि उक्त प्रतिरक्षा प्रणालीले ती भाइरसलाई मार्न साइटोकाइन्स, माइक्रोफेजेज सक्रिय रुपमा लाग्छ। तर ती भाइरसहरु शरीरमा लुकेर बस्न थाल्छन्। 

यो प्रक्रियामा शरीरमा साइटोकाइन्स बमबारमेन्ट पनि हुन्छ। बुझ्ने गरी भन्नुपर्दा कहिले काँही ती भाइरसहरुलाई मार्न शरीरले उत्पादन गरेको बम पड्किएर ती भाइरसहरु मात्र मार्दैन। आफैँलाई पनि मार्छ। यसले गर्दा ‘सिस्टमिक’ फेलिएर हुने, अंगहरु खराब हुने हुन्छ। यी सबले गर्दा नै मानिसको मृत्यु हुन्छ। त्यसैले भाइरसले श्वाप्रश्वास प्रणालीलाई मात्र नभई सिस्टमिक फेलिएर हुने, सिस्टमिक इन्फ्लामेशन गराएर मानिसको मृत्यु हुन्छ।