ताजा पोस्ट :

आज असोज १ गते विश्वकर्मा पूजा : भगवान विश्वकर्माकाे पूजा आराधना गर्दा हुन्छ धन लाभ

11600

नेपालमा प्रत्येक वर्ष असोज १ गते विश्वकर्मा भगवानको पूजा गरिन्छ । ऋगवेदअनुसार भगवान विश्वकर्मालाई  ब्रह्माण्डको वास्तुकार अर्थात् सम्पूर्ण देवताहरुको आधिकारिक निर्माता भनेर उल्लेख गरेको पाइन्छ। महाभारतमा उनलाई कलाका स्वामी, उत्तम शिल्पकार तथा सर्वश्रेस्ठ कालिगड भनेर वर्णन गरिएको छ। सामान्य भाषामा उनलाई देवी देवताको इन्जिनियर पनि भन्ने गरिन्छ। उनै भगवान विश्वकर्माकाले देवताहरुलाई गुड्नलाई रथ तथा उडानलाई जहाज निर्माण गरेको र बस्नलाई भवन तथा महलहरु र अन्य हतियार तथा औजारहरु बनाइदिएको धार्मिक शास्त्रमा वर्णन गरेको पाइन्छ । सबै देवी देवताहरुले पनि विश्वकर्मा भगवानलाई विशेष महत्वका साथ आदर गर्ने बताइन्छ ।  

हिन्दु  पौराणिक कथनअनुसार उनलाई सृष्टिका रचयिता भगवान ब्रह्माका सातौं धर्म पुत्रको रुपमा पनि चिनिन्छ । हिन्दु धर्मशास्त्रमा उनलाई चार हात भएका, मुकुट लगाउने, हातमा कमण्डलु, किताब र विभिन्न औजारहरु बोक्ने भगवान भनेर चित्रण गरिएको छ।   भगवान विश्वकर्माले निर्माण गरेका केही भवनहरुमा रावणको सुनको लंका, कृष्णनगरी द्वारिका, पाण्डवका लागि इन्द्रप्रस्थ नगरी र हस्तिनापुर पर्दछ भने  हतियारमा भगवान शिवको त्रिशूल, विष्णुको सुदर्शन चक्र र यमराजको कालदण्ड बनाएको विश्वास गरिन्छ।  त्यसैगरी दानवीर योद्धा कर्णको कुण्डल र पुष्पविमान पनि उनैले बनाएको कथन छ। रावणको अन्त्य पछि भगवान राम माता सिता र अन्य भाइभारद्वारहरु तिनै पुष्पविमानमा अयोध्या फर्केको धार्मिक विश्वास छ।   

हिन्दु समाजमा विश्वकर्मा पूजाको विशेष महत्व रहेको छ।  मानिसलाई सम्पूर्ण शिल्प ज्ञान भगवान विश्वकर्माबाट प्राप्त भएको मानिन्छ। यदि भगवान विश्वकर्माको कृपा नभएको भए सायदै यो धर्तिमा निर्माण र विकासका कार्यहरु नहुने धार्मिक विश्वास छ। उनैले दिएको शिल्पकलाले गर्दा आज सारा विश्वले सामाजिक, आर्थिक तथा संस्कृतिक विकास गरेको भनेर हिन्दु धर्मलम्बीहरु विश्वास गर्छन् । सम्पूर्ण विधि पुर्याएर भगवान विश्वकर्माको पूजा गर्दा व्यापारमा जहिले फलिफाप हुने मान्यता छ।  

नेपालमा पनि विश्वकर्मा भगवानको पूजा धुमधामका साथ मनाइन्छ।  विशेषगरि तराईका थुप्रै ठाउँहरुमा विश्वकर्मा भगवानको मुर्ति स्थापित गरि भव्यताका साथ मनाइने, साथै  विधिवत पूजागरि भगवान विश्वकर्माको आरती समेत गरिन्छ र अन्तमा सबैलाई प्रसाद वितरण गरिन्छ।  मुख्यतया  इन्जिनियरिङ, आर्किटेक्चर, चित्रकारी तथा फलाम र अन्य निर्माणका काममा आवद्द भएका मानिसले यसदिन लाई निकै नै उत्साहको साथ मनाउने गर्दछन् । यस दिन अन्य कार्यालयमा भने आफ्नो कम्प्यूटर, ल्यापटप तथा अन्य मेसिनरी सामग्रीहरुको पूजा गर्दछन् भने घरमा आफ्नो साइकल, गाडी तथा मोटर साइकलसहित सवारी साधन तथा फलामजन्य सामानको पूजा गर्ने गर्छन् । 

विश्वकर्माको पूजा गर्नुअघि मेसिनरी समानसहित फलामजन्य सामाग्रीहरुको सरसफाइ गर्नुपर्ने हुन्छ । असोज १ गते विश्वकर्मा भगवानमा गरिन्छ । यसदिन मिठाइ, फलफूल चढाएर भगवान विश्वकर्माको धुमधामका साथ पूजा गर्ने चेलन छ । कलकारखाना, व्यापार प्रतिष्ठान तथा मेसिनेरी सामान प्रयोग हुने प्रतिष्ठानमा पूजा गर्ने गरिन्छ ।