ताजा पोस्ट :

३ नं प्रदेश डेंगुबाट सबैभन्दा बढी प्रभावित, मुलुकभर ८ हजार ९० जना संक्रमति

21400

काठमाडौं । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु संक्रमणबाट प्रदेश नम्बर ३ बढी प्रभावित भएको जनाएको छ।

 जिल्लागत रुपमा भने चितवन सबै भन्दा बढी प्रभावित भएको छ।

त्यसैगरी मकवानपुर दोश्रो र तेश्रोमा कास्की जिल्ला डेंगु संक्रमणबाट प्रभावित भएको विभागका निर्देशक डाक्टर विवेक कुमार लालले जानकारी दिए। रोगको ठ्याक्कै उपचार नभएकाले लक्षणका आधारमा उपचार गर्नुपर्ने उल्लेख गर्दे उनले आफूखुसी औषधी सेवन नगर्न पनि सबैलाई आग्रह गरे।

खोप तथा औषधीबाट डेंगु र्निमूल गर्न नसकिने भएकाले सरकारले काम गरेन भनेर दोष दिन नमिल्ने तर्क उनले गरे। घरघरमा रहेका भाडामा रहेको पानी, प्लाष्टिकका जगमा रहेको पानी तथा गमलामा वृद्धि हुने लामखुट्टे भएकाले सबैका घरमा गएर सरकारले सरसफाई गर्नुपर्ने भन्ने कुरा तर्कसंगत नहुने भएकाले प्रत्येक व्यक्ति आफैमा सजग हुनुपर्ने बताए।

विभागका अनुसार हाल मुलुकभर ८ हजार ९० जना डेंगुबाट संक्रमति भएका छन् । काठमाडाैँ उपत्यकामा मात्रै असार यता १ हजार १ सय ५० जना डेंगुबाट संक्रमित भएका छन् ।