ताजा पोस्ट :

कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए , सचेत रहन आग्रह ! बिहार पनि जलमग्न 

30100

सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ ।

ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले पानीको बहाव बढेकाले सबै ढोका खोलिएको जानकारी दिए । 

आइतबार बिहान गरिएको मापन अनुसार सप्तकोशीमा पानीको बहाव ३ लाख ५२ हजार क्यूसेक प्रतिसेकेन्ड मापन गरिएको छ । 

यो बहाव अहिलेसम्मकै उच्च हो । कोशी ब्यारेजमा रहेका सबै ढोकाहरु खोलिएको छ । ५६ ढोकामध्ये ५६ वटै ढोका खोलिएको हो । 

पानी पर्दै रोकिँदै भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार पनि निरन्तर वर्षा हुने भएकाले सचेत रहन आग्रह गरेको छ ।  

वर्षा जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले स्थानीय बासिन्दालाई सचेत गराएको छ । 

बिहार पनि जलमग्न 

भारतको बिहार पनि जलमग्न भएको छ । भारी वर्षासंगै सप्तकोशीका सबै ढोका खोलिँदा बाढीले गर्दा बिहार जलमग्न भएको हो । 

बिहार डुबेसंगै सप्तकोशीका ढोका बन्द गर्न दबाब दिएको बुझिएको छ । 

सन्धी अनुसार सप्तकोशीको कोशी ब्यारेज भारतको नियन्त्रणमा भएकाले पनि बिहार डुब्दा ढोका बन्द गर्न दबाब बढेको छ । 

स्रोतका अनुसार तत्काल चार वटा ढोका बन्द गर्ने क्रममा रहेको बुझिएको छ । वर्षामा कमी आएको भन्दै चार वटा ढोका बन्द गर्न लागिएको हो ।