ताजा पोस्ट :

४ किलोमिटरसम्म एम्बुलेन्सलाई बसले साइड नदिएपछि बिरामीको बाटैमा ज्यान गयो

5260

डोटी– बिरामी बोकेको गाडीलाई साइड नदिने बसमाथि डोटीमा तोडफोड भएको छ ।

पूर्वीचौकी गाउँपालिका क्षेत्रमा एम्बुलेन्स नभएका कारण स्थानीयले शैलेश्वरी यातायातको से १ ज ३७६ नं. को बोलेरो जीपमा बिरामीलाई अस्पताल लाँदै थिए ।

आपतकालीन बत्ती बालेर आएको जीपले पटक–पटक साइड माग्दासमेत बस चालकले लापरवाही गरेका कारण समयमै अस्पताल पुग्न नसक्दा बालकको ज्यान गएको मृतकका आफन्तहरुको आरोप छ । चार किलोमिटरसम्म पनि आफूहरुलाई साइड नदिएपछि बाटोमै बालकले ज्यान गुमाउनु परेको उनीहरु बताउँछन् ।

खेल्ने क्रममा पानीले भरिएको बाल्टिनमा डुबेर अचेत भएका धनबहादुर धानुकलाई उपचारका लागि डोटी जिल्ला अस्पताल ल्याउने क्रममा उनको बाटाेमै ज्यान गएकाे हाे । मृतक बालकका अाफन्तले भने बसले साइड नदिएका कारण समयमै अस्पताल पुग्न नसकेकाे बताएका छन् ।

आपतकालीन संकेत दिँदा पनि चार किलोमिटरसम्म बसले साइड नदिएको भन्दै मृतकका आफन्तहरुले बसमाथि तोड्फोड गरेका छन् । साइड नदिएको आरोपमा बाजुराबाट महेन्द्रनगरतर्फ गइरहेको महाकाली यातायातको ना ७ ख ६१८२ नं. को यात्रुवाहक बस तोड्फोड गरेको भन्दै प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुविरुद्ध सार्वजनिक अपराध अन्तरगत मुद्दा दायर गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

आक्रोशित युवाहरुले बसको काँच फुटाउनुका साथै चालक, सहचालक र यात्रुहरुलाई समेत हातपात गरेका कारण पूर्वीचौकी गाउँपालिका(५ निवासी २३ वर्षीय ध्रुव धानुक, २३ वर्षीय यज्ञ धानुक, २६ वर्षीय शंकर धानुक, २३ वर्षीय धनी धानुक र पूर्वीचौ गाउँपालिका –१, का शंकरसिंह ऐरविरुद्ध सार्वजनिक अपराधमा मुद्दा दायर गर्ने तयारी भइरहेको प्रनाउ तथा प्रवक्ता सिंहले जानकारी दिनुभयो ।

प्रहरीले आफ्ना मान्छेहरुलाई थुनेको भन्दै मृतकका आफन्तहरुले थुनिएका व्यक्तिहरु रिहा नभएसम्म शव उठाउन मानेका छैनन् ।साइड नदिने बस चालकलाई कारवाही गर्नुको सट्टा उल्टो पीडित पक्षलाईनै थुनेको भन्दै मृतकका आफन्तहरुले आक्रोश पोखेका छन् ।

बिमल विष्ट/उज्यालो ।

 from nepal24news bata