ताजा पोस्ट :

शेयर अबको एक वर्ष पाल्न सके राम्रै प्रतिफल पाइने संकेत

4430

अहिले शेयर खरिद गरेर एक वर्ष पाल्न सके उच्च प्रतिफल पाइने निश्चित देखिएको छ । न्यूनतम बिन्दूतिर आएको नेप्से (१११२.८७ बिन्दु) पुनः उकालो लागेमा आम्दानी हुने त छदै छ । शेयर बजार यतिकै अंकमा रहे पनि वाणिज्य बैंकहरुले अर्को वर्ष उच्च लाभांश दिन सक्ने देखिएकाले लगानीकर्ताले उच्च लाभांश पाउने सम्भावना छ ।

वाणिज्य बैंकले हालसालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो ६ महिनाको तथ्यांकले अर्को वर्ष लगानीकर्तालाई राम्रै प्रतिफल दिने संकेत देखाएको छ । वाणिज्य बैंकहको नाफा अघिल्लो वर्षभन्दा बढेको छ । यसले पनि वाणिज्य बैंकले अर्को वर्ष बढी लाभांश दिने सम्भावना देखिएको हो ।

यसैगरी, चालु आर्थिक वर्षको पुस महिनासम्म प्रकाशित गरेको वित्तीय विवरणमा अधिकांश बैंकको शेयर आम्दानी गत वर्षको तुलनामा बढेको छ । यसको सोझो अर्थ हो, लगानीकर्ताले प्रतिफल उच्च पाउने सम्भावना छ ।

यसपटक वाणिज्य बैंकहरुले चुक्ता पुँजी ८ अर्ब पुर्याइसकेकाले अधिकांशले नगद लाभांश दिए । तर, राष्ट बैंकले आगामी वर्ष बैंकहरुको चुक्ता पुँजी बढाउने भित्री तयारी पनि गर्दै छ । हकप्रद शेयर जारी नगरी बोनस, मर्जर र एक्विजिसनको माध्यमबाट चुक्ता पुँजी बढाउने योजनामा पुगेका स्रोतको भनाइ छ ।

चुक्ता पुँजी बढ्यो भने त लगानीकर्तालाई काग ताली नै पर्ने भयो । चुक्ता पुँजी पनि बढेन र अहिलेकै अवस्थामा नेप्से रहि रह्यो भने पनि अर्को वर्ष बैंकहरुले दिने उच्च लाभांशले लगानीकर्ता नाफा कमाउन सक्ने छन् ।

तर्क वा गफले होइन तथ्यांकले नै आगामी वर्ष बैंकहरु दिने प्रतिफल उच्च हुने देखाएको छ । बैंकहरुले भर्खरै सार्वजनिक गरेको ६ महिनाको तथ्यांकले प्रायः अधिकांश बैंकको प्रतिशेयर आम्दानी उच्च देखाएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २७ वटा (राष्टिय वाणिज्य बैंकले सर्वसाधारणलाई शेयर जारी नगरेकाले) वाणिज्य बैंकहरुले अर्को वर्ष लगानीकर्तालाई राम्रै प्रतिफल दिने देखिन्छ ।

अहिले सबैभन्दा बढी शेयर आम्दानी गर्ने बैंक नबिल भएको छ । यसको प्रतिशेयर आम्दानी ५४ रुपैयाँ २८ पैसा छ । यो भनेको हाल यस बैंकका शेयरधनीले एक शेयरबराबर ५४ रुपैयाँ २८ पैसा कमाएका छन् भन्ने हो । गत वर्षको पुससम्ममा उक्त बैंकको प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ७० पैसा मात्र थियो ।

यसै गरी प्रतिशेयर आम्दानी ३० रुपैयाँभन्दा बढी हुनेमा हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एसिया, एभरेष्ट र नेपाल बैंक रहेका छन् । हिमालयन बैंकको प्रतिशेयर आम्दानी ३२.०९ रुपैयाँ छ । गत वर्ष २७ रुपैयाँ २६ पैसा मात्र थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ९९ पैसा छ । गत वर्ष ३४ रुपैयाँ ४५ पैसा थियो । त्यस्तै एनआईसी एशियाको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ३१ पैसा पुगेको छ । गत वर्ष १४ रुपैयाँ २४ पैसा थियो । एभरेष्ट बैंकको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ६३ पैसा छ । गत वर्ष ३१ रुपैयाँ ४२ पैसा थियो । नेपाल बैंकको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ८७ पैसा छ । गत वर्ष ४० रुपैयाँ ७४ पैसा थियो ।

त्यस्तै प्रतिशेयर आम्दानी २० रुपैयाँ बढी हुने बैंकमा सानिमा बैंक, नेपाल एसबीआई बैंक, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू, एनएमबी बैंक, कृषि विकास बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, प्राइम र एनसीसी बैंक छन् । उनीहरुमध्ये केहीको बाहेक अन्यको प्रतिशेयर आम्दानी बढेको छ ।

बैंकको प्रतिशेयर आम्दानी बढेकाले पनि लगानीकर्ताले पाउने प्रतिफल बढ्ने छ । बैंकरहरु पुँजी वृद्धि गरिसकेको र व्यवसाय वृद्धि गरेकाले पनि प्रतिशेयर आम्दानीमा वृद्धि भएको बताउँछन् । बैंकहरु आफैंले पनि आगामी वर्षदेखि पुँजी बढाउँदै लैजाने रणनीतिमा छन् । त्यस्तो नीतिले पनि बैंकहरुले अर्को वर्ष नगदभन्दा बोनसलाई जोड दिने सम्भावना बढी छ ।

साधारण लगानीकर्तालाई नगदभन्दा बोनस प्राप्त गर्दा धेरै फाइदा हुने भएकाले पनि अर्को वर्ष शेयर लगानीकर्तालाई सुनौलो वर्ष हुने अपेक्षा गरिएको छ ।

Source:  http://aarthiknews.com/