ताजा पोस्ट :

तरकारी खेतीले बनायो पहिचान,

5680

नुवाकोट -  नुवाकोटको शिवपुरी गाउँपालिका–८ का रामप्रसाद पुडासैनीले तरकारी खेतीबाटै वर्षको १० लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । घरमा आयआर्जनको कुनै विकल्प नभएर विदेश जाने सोच बनाएर बस्नुभएका उहाँ पहिला आप्mनै ठाउँमा थोरै केही गरुँ, भएन भने मुग्लान भासिनु पर्ला भन्ने सोच बनाई काम शुरु गर्नुभएको थियो ।

 

उहाँले रु २० हजार ऋण लिएर २२ वर्ष पहिला दुईवटा टनेल बनाई तरकारी खेती गर्न शुरु गर्नुभएको थियो । उहाँँले बारीमा गोलभँेडा, करेला, खुर्सानीलगायतका तरकारी लागाए । तरकारी लगाएको केही महीनापछि लगानीभन्दा बढी आम्दानी भयो । काम गर्ने जाँगर र सोच झन् बढेर गएको उहाँको भनाइ रहेको छ । पैसा कमाउन विदेश नै जान पर्दो रहेनछ भन्ने विचार उहाँमा आएसी तरकारी खेती गर्ने जग्गा थपेर अब तरकारी नै खेती गर्छु भन्ने आँट उहाँले गर्नुभयो ।

 

“पहिला त अहिलेको जस्तो सेवा सुविधाहरु कहाँ थियो र । यातायातको असुविधाले बजारको समस्या थियो । अहिले खेतमै तरकारी बोक्न गाडी आउँछ । अहिले बजार पनि यही त्रिशूली, बटार नजीकै पाइन्छ । स्थानीय बजारमा दिएर पनि बाँकी भएको तरकारी काठमाडौँ लाने गरेको छु । तरकारी व्यापारीहरु आफैँ घरसम्म आउँछन् ।” 

पुडासैनीले अहिले उहाँ ३० रोपनी जग्गामा ८३ वटा टनेलमा तरकारी व्यवसाय गरी रु एक करोडभन्दा माथि लगानी गरिरहेको उहाँ बताउनुहुन्छ । पुडासैनी भन्नुहुन्छ, “मैले आफ्नो परिवारसँगै बसेर आनन्दले छोराछोरीलाई पढाएर लाउन खान व्यवसाय गर्न पुगेको छ । तरकारी मौसमअनुसारको जस्तै गोलभेँडा, आलु, प्याज, लसुन, धनियाँ, सिमी, बोडी, खोर्सानी, फर्सी, भ्यान्टालगायतका तरकारीहरु लगाउने गरेको छु ।” तरकारी खेतीबाटै राम्रो गरेको कारण मलाई कृषि विकास मन्त्रालयबाट २०७३ सालमा रु २८ लाख अनुदानसमेत पाउनुभएको थियो । उहाँले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार २०७२ मा जिल्लामा प्राप्त गर्नुभएको थियो । 

 

पुडासैनी मात्र हैन नुवाकोट म्यागङ गाउँपालिका–३ का सोमबहादुर तामाङले पनि वैदेशिक रोजगारमा जाने सोच त्यागेर विगत १५ वर्षदेखि तरकारी खेतीमै आफनो जीवनको हरेक समय बिताइरहेका छन् । तामाङले शुरुमा रु ४० हजारको लगानीमा दुईवटा टडेलबाट तरकारी खेती गरेको उहाँ बताउनुहुन्छ ।

 

तामाङ भन्नुहुन्छ, “मैले जीवनमा धेरै दुःख पाए म्यागङ गाउँ पहिला अति नै दुर्गम ठाउँ थियो । केही गरुँ भन्ने मनमा छ । हाम्रो गाउँमा पानीको सुविधा भएकाले तकारी खेती गर्ने विचार आयो । रु ४० हजार ऋण मागेर ल्याएँ । गाउँघरमा कसैले नपत्याएपछि ससुरालीबाट उहाँले ऋण लिएको थिएँ ।” रासस