ताजा पोस्ट :

एकपटक घुम्नैपर्ने नेपालका केहि उत्कृष्ट स्थानहरु-हेर्नुहोस् (फोटोफिचर )

3680

घुमफिरडटकमको दृष्टिमा नेपालकै उतकृष्ट गन्तब्यहरु पोखरा, सौराहा, रारा, जोमसोम, चित्लाङ, नगरकोट, धुलिखेल, इलाम, भेडेटार, लुम्बिनी, घोडाघोडी ताल, शुक्लाफाँटा, खप्तड आदि प्रमुख गन्तब्यहरु पर्न सफल भएकाछन् । तपाई नयाँवर्षमा कहाँ जान रुचाउनु हुन्छ ? नेपालको सबैभन्दा ठूलो ताल, वरपर जंगल तथा चरा–चुरुङ्गीको चिरबिरले जो–कसैलाई स्वर्गको आभास दिलाउँछ ।

पाँच वर्षअघिसम्म रारालाई कठिन गन्तव्य मानिन्थ्यो, तर अहिले यातायातको सुविधाले काठमाडौंबाट दुई दिनको यात्रापछि रारा सजिलै पुग्न सकिन्छ । मुगुमा पर्ने यो तालको सेरोफेरोमा अरू धेरै गन्तव्य पनि छन् । यो क्षेत्रमा चंखेली हिमाल, दुधे दहसहित साना–ठूला गरी १ सयभन्दा बढी ताल, कुण्ड आदि छन् ।

रारा ताल रारा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने उक्त क्षेत्रमा रेडपान्डा, दुर्लभ सेतो कस्तूरी, नाउर, घोरल, गिद्ध, बाज, चीलजस्ता पशुपन्छी अवलोकन गर्न सकिन्छ । यो क्षेत्र यार्सागुम्बा, पाचँऔले, उत्तिस, कटुस, भोल्तेजस्ता जडीबुटीको भण्डार पनि हो । अहिले नयाँ वर्षका लागि आर्ट समिट एन्ड टुर्सले रारा यात्राको एकहप्ते प्याकेज समेत सार्वजनिक गरेको छ । यो प्याकेजअन्तर्गत रारा पुगेर काठमान्डौं फर्कंदासम्म प्रतिव्यक्ति १६ हजार ५ सय रुपैयाँ खर्च हुने बताइएको छ । ६ रात ७ दिनको यो प्याकेजमा यातायात, खानपान तथा बास खर्च समावेश छ ।

जोमसोम–मुक्तिनाथ प्रकृतिप्रेमीहरूका लागि जोमसोम र त्यसवरिपरिको क्षेत्र विश्वमा नै निकै प्रसिद्ध छ, भने धार्मिक पर्यटकका लागि मुक्तिनाथ चर्चित छ । पाँच–छ वर्ष पहिलेसम्म विदेशी पर्यटकको मात्र रोजाइमा पर्ने जोमसोम–मुक्तिनाथ अहिले नेपालीहरूको रोजाइमा पनि पर्न थालेको छ । यसको प्रमुख कारण पोखराबाट जोमसोम–मुक्तिनाथका लागि सहज सडक यातायात उपलब्ध हुनु र संचार क्षेत्रमा भएको बिकासलाई लिन सकिन्छ हो । एकल यात्राका लागि जोमसोम–मुक्तिनाथ केही महँगो भए पनि विभिन्न ट्राभल कम्पनीहरूले नयाँ वर्षका लागि जारी गरेको प्याकेजलाई निकै सस्तो मानिएको छ । उक्त प्याकेजअन्तर्गत ४ रात र ५ दिनको भ्रमणका लागि १४ हजार ५ सय रुपैयाँजति खर्च गर्नुपर्छ ।

चित्लाङ नयाँ वर्ष मनाउन नजिकको गन्तव्य रोज्नेहरूका लागि मकवानपुरको चित्लाङ पनि उपयुक्त हुन सक्छ । उपत्यकाको धूवाँधूलो र कोलाहललाई पन्छाउँदै थानकोटबाट मात्र १४ किलोमिटरको बस यात्रापछि चित्लाङ पुग्न सकिन्छ । ऐतिहासिक स्थल, ग्रामीण वातावरण, वनजंगलको मनमोहक दृश्यका साथ यहाँ रहेका साना–ठूला होटलहरूले पाहुनाको भव्य स्वागत गर्छन् । चित्लाङमा टिम बनाएर पनि जान सकिन्छ भने विभिन्न ट्राभल कम्पनीले तयार गरेका प्याकेजमार्फत पनि पुग्न सकिन्छ । विभिन्न ट्राभल कम्पनीहरूले नयाँ वर्षलाई लक्षित गरी १ रात र २ दिनका लागि ३ हजार ५ सय रुपैयाँको प्याकेज तयार गरेका छन्, जसमा काठमाडौंबाट चित्लाङसम्मको यातायात, एक रातको बास तथा खानापिन समावेश छ । यो प्याकेजअन्तर्गत प्रत्येक दिन थानकोटबाट २ बजेपछि बस छुट्छ।

त्रिशूलीरभोटेकोसी र्याफ्टिङ नयाँ वर्षका अवसरमा र्याफ्टिङमा रमाउनेहरूका लागि भोटेकोसी र त्रिशूली नदीमा र्याफ्टिङसहितको प्याकेज सार्वजनिक भएको छ, जसअन्तर्गत त्रिशूलीसम्म पुगेर र्याफ्टिङ गरी काठमाडौं फर्कन एक जनाले १ हजार ८ सय रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । यो प्याकेजअन्तर्गत भोटेकोसीमा र्याफ्टिङ गर्ने हो भने २ हजार २ सय रुपैयाँ खर्च हुन्छ । पहिलो प्याकेजमा काठमाडौंदेखि त्रिशूलीसम्मको यातायात तथा दोस्रो प्याकेजमा भोटेकोसीसम्मको यातायात एवं एक दिनको खानाको व्यवस्था छ ।

इलाम इलाम नयाँ वर्ष मनाउन सकिने एउटा प्रमुख गन्तव्य हो । नागबेली डाँडामा चियाका बोटसँग लुकामारी खेल्दै यहाँको सौन्दर्यको मज्जा लुट्नुको आनन्द नै बेग्लै हुन्छ । सार्वजनिक यातायातमार्फत सजिलैसँग इलाम पुग्न सकिन्छ । इलामका सबै साना–ठूला पर्यटकीय गन्तव्यमा स्तरीय होटलहरूको व्यवस्था छ । दिनभर घुमेर अर्को दिन मात्र फर्कन चाहनेहरूले यहाँ प्रतिव्यक्ति ४ हजार रुपैयाँ खर्च गरे पुग्छ ।

भेडेटार तराईको गर्मी छल्दै नयाँ वर्ष मनाउने उपयुक्त डेस्टिनेसन हो— भेडेटार । छिनमै बादल र छिनमै घाम लाग्नु यहाँको विशेषता हो । भेडेटारको भ्यू–टावरबाट हिमश्रृङ्खला, उच्च पहाडी श्रृङ्खला एवं तराईका समथर फाँटको दृश्यावलोकन गर्न सकिन्छ । भेडेटारनजिकैको नमस्ते झरना, तमोर नदी तथा मगर समुदायको हुर्रा नाचले नयाँ वर्षलाई थप विशेष बनाउन सक्छ । धार्मिक पर्यटनमा रुचि भएकाहरूले भेडेटारसँगै धरानका बूढासुब्बा, दन्तकाली, पिण्डेश्वर, बराहक्षेत्र आदि धार्मिक स्थलको भ्रमण गर्न सक्छन् । एकदिन भेडेटारमै बिताउने हो भने एकदिन एक रातका लागि प्रतिव्यक्ति ३ हजार ५ सय देखी ६ हजार रुपैयाँसम्म खर्च हुनसक्छ ।